८ मंसिर, सिरहा ।

सिरहा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का रामशङ्कर यादव निर्वाचित हुनुभएको छ । यादवले सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार पूर्वउद्योग राज्यमन्त्री पदमनारायण चौधरीलाई पराजित गरी विजय हासिल गर्नुभएको हो ।

क्षेत्र नं १ का निर्वाचन अधिकृत लोकहरि बस्यालले दिनुभएको जानकारीअनुसार निर्वाचित यादवले दुई हजार ८३ मतको मतान्तरले विजयी हासिल गर्नुभएको हो । सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार एमालेका यादवले २९ हजार चार सय ६२ मत प्राप्त गर्नुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गर्नुभयो । जनमत पार्टीका युगलकिशोर साह छ हजार आठ सय ४९ मत प्राप्त गरी तेस्रो स्थानमा रहनुभयो ।

क्षेत्र नं १ (१) बाट पनि एमालेका चौधरी निर्वाचित

त्यसैगरी सिरहा क्षेत्र नं १ को प्रदेशसभा (१) बाट पनि नेकपा (एमाले)का राजेन्द्रप्रसाद चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले सत्ता गठबन्धन कांग्रेसका उम्मेदवार सुनिलकुमार महतोलाई एक सय ७१ मतको मतान्तरले पराजित गर्नुभयो ।

प्राप्त मतपरिणामअनुसार विजयी चौधरीले ११ हजार सात सय २१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महतोले ११ हजार पाँच सय ५० मत प्राप्त गर्नुभएको सिरहा क्षेत्र नं १ निर्वाचन अधिकृत बस्यालले जानकारी दिनुभयो ।