७९ मंसिर ७ काठमाडौ, नेपाल ।

रुस र क्युबाले आपसमा दुई देशबीचको सम्बन्धको विस्तारका लागि जोड दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव बीचको वार्ताका क्रममा सो सहमति भएको समाचारमा जनाइएको छ । रुस भ्रमणमा रहनुभएका क्युबाको कम्युनिष्ट पार्टी तथा क्युबाली राष्ट्रपतिका प्रथम सचिव मिगुल दियाज–क्यानेल बर्मुदिजले मङ्गलबार रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गर्नुभएको थियो ।उहाँहरुका बीचमा भएको वार्तामा दुई देशले आपसको सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने विषयमा कुराकानी भएको प्राप्त समाचारमा जनाइएको छ । सोभियत युनियन र रुसी नागरिक सधैँ क्युबाको पक्षमा रहेका छन् र क्युबाली नागरिकले उनीहरुको स्वतन्त्रता र देशका सार्वभौमिकताका पक्षमा गरेका संघर्षका पक्षमा छन्– पुटिनले सो भेटका क्रममा बताउनुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जनाएको छ । मङ्गलबार मस्कोमा भएको भेटवार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले आगामी दिनमा पनि यो सम्बन्धलाई थप सुमधुर बनाउने भन्दै विभिन्न अन्तर्राष्ट्रिय फोरममा रुसले क्युबाको पक्षमा समर्थन गर्ने जनाउनुभएको पनि सो समाचारमा जनाइएको छ । रुसको औपचारिक भ्रमणमा जानुभएका प्रथम सचिव बर्मुदिजले हाल रुसले विश्व राजनीतिमा प्रदर्शन गरेको भूमिकाको समर्थन गर्दै क्युबाको सहयोगका लागि रुसले खेलेको भूमिकाको पनि प्रशंसा गर्नुभएको थियो ।उहाँहरु सो भेटवार्ताअघि मस्कोमा आयोजित क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको शालिक अनावरण समारोहमा उपस्थित हुनुभएको थियो । त्यस अवसरमा पूर्व राष्ट्रपति क्यास्ट्रोप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।