७९ मंसिर ६ काठमाडौ नेपाल ।
भारतका दुई उत्तरपूर्वी राज्य आसाम र मेघालयलाई विभाजन गर्ने सीमा नजिकै प्रहरीले चलाएको गोली लागेर कम्तीमा छ जनाको मृत्यु भएको मेघालयका मुख्यमन्त्री कोनराड संगमाले मङ्गलबार पुष्टि गरेका छन् । घटना मेघालयको पश्चिम जयन्तिया हिल्स जिल्लामा भएको थियो । असम प्रहरी र असम वन रक्षकहरूले भीडमा अन्धाधुन्ध गोली चलाएका थिए । सञ्चारमाध्यममा जनाइएअनुसार असम प्रहरीका अनुसार कर्मचारी र असम वन गार्डहरू ट्रकलाई पछ्याउँदै मेघालयको क्षेत्रमा प्रवेश गरेका थिए । त्यहाँ दुई पक्षबीच चर्को बहस भएको र त्यहाँ उपस्थित असमका सुरक्षाकर्मीले भीडमाथि अन्धाधुन्ध गोली चलाउँदा उक्त घटना घटेको बताइएको छ । सङ्गमाले ट्वीट गर्दै पश्चिम जयन्तिया हिल्स जिल्लाको मुक्रोह गाउँमा भएको दुर्भाग्यपूर्ण घटनामा असम प्रहरी र असम वन रक्षकहरूको गोलीबाट ६ जनाको मृत्यु भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “मृतकमध्ये पाँच जना मेघालयका बासिन्दा भएको र एक जना असम वन रक्षक भएको पुष्टि भएको छ । मृतकका शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।” उनका अनुसार यस अमानवीय कार्यका लागि जिम्मेवार व्यक्तिलाई कारबाही गर्न आफ्नो सरकारले सबै किसिमका कदम चाल्ने बताएका छन् । यसैबीच मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै मृतकका आफन्तहरूलाई ५ लाख भारतीय रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउँने घोषणा पनि गरेका छन् ।