६ मंसिर, माेरङ ।

मोरङ क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुनिल शर्माले अग्रता लिनुभएको छ । पछिल्लो जानकारीअनुसार तीन हजार पाँच सय ६१ मत गणना हुँदा शर्माले एक हजार आठ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा (एमाले)का भानुभक्त ढकालले नौ सय ७६ मत पाउनुभएको छ । त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले तीन सय ८८ मत पाउनुभएको छ । थापा पछिल्लो मतपरिणामअनुसार तेस्रो स्थानमा हुनुहुन्छ । यो क्षेत्रमा २०७४ सालमा पनि कांग्रेसका शर्मा र एमालेका ढकालबीच नै प्रतिस्पर्धा भएको थियो । जसमा ढकाल निर्वाचित हुनुभएको थियो ।

मोरङ क्षेत्र नं ३ मा ६५ दशमलव ८ प्रतिशत मत खसेको थियो । यो निर्वाचन क्षेत्रमा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेका छन् । यहाँ ९७ हजार पाँच सय एक मत खसेको छ । मोरङ क्षेत्र नं ३ मा सोमबार दिउँसोदेखि समानुपातिकतर्फबाट मतगणना सुरु भएको हो । यस क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनका शर्मा, एमालेका ढकाल, राप्रपाबाट थापाबीच मुख्य प्रतिस्पर्धा रहेको छ । मोरङ क्षेत्र नं ३ को मतगणना अहिले बेलबारीको भगवती माविमा जारी छ ।

मोरङ–२ मा अग्रता बढाउँदै एमाले मोरङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलको अग्रता रहेको छ । नेपाली कांग्रेस नेत्री सुजाता कोइरालालाई पछि पार्दै पोखरेल अगाडि बढ्नुभएको हो । दुई हजार आठ सय १८ मतगणना हुँदा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले एक हजार चार सय सात मत प्राप्त गर्नुभएको छ । कोइरालाले नौ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

पोखरेल र कोइरालाको मतान्तर चार सय २४ रहेको छ । मोरङ क्षेत्र नं २ मा ६४ दशमलव २४ प्रतिशत मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा एक लाख २४ हजार सात सय २९ मतदातामध्ये ८० हजार एक सय २७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यस निर्वाचन क्षेत्रमा पोखरेल र कोइरालाबीच मुख्य प्रतिस्पर्धा रहेको छ । मोरङ क्षेत्र नं २ को मतगणना अहिले विश्वनाथ मन्दिर रतुवामाईमा जारी रहेको छ ।