६ मंसिर, दाङ ।

दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारहरूले निरन्तर अग्रता कायम गर्नुभएको छ । निर्वाचन क्षेत्र नं १ मा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले सुरुआतीदेखि नै अग्रता लिनुभएको छ ।

पछिल्लो मतपरिणामअनुसार क्षेत्र नं १ मा छ हजार एक सय ७३ मत गणना हुँदा चौधरीले दुई हजार तीन सय १३ मत प्राप्त गर्नुभएको छ । एमालेकी उम्मेदवार शान्ता चौधरीले एक हजार पाँच सय ३३ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले एक हजार दुई सय ८४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं १ (१) मा चार हजार सात सय ९३ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र)का इन्द्रजित थारूले दुई हजार एक सय ३३ मत ल्याउनुभएको छ भने एमालेका गङ्गाराम भट्टराईले दुई हजार एक सय १९ मत ल्याउनुभएको छ ।

प्रदेशसभातर्फ १ (२) मा छ हजार छ सय २६ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अनुराग खड्काले दुई हजार आठ सय ६३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले दुई हजार तीन सय ६९ मत प्राप्त गर्नुभएको छ ।

दाङ–२ मा १८ हजार तीन सय ८० मतगणना गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी रेखा शर्माले सात हजार पाँच सय १३ मत प्राप्त गर्नुभएको छ । उहाँलाई एमालेबाट उम्मेदवार रहेका पार्टीका महासचिव शङ्कर पोखरेलले पछ्याइरहनुभएको छ । पोखरेलले पाँच हजार नौ सय ३९ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले तीन हजार तीन मत प्राप्त गर्नुभएको छ । निर्वाचन क्षेत्र नं २ मा जम्मा ७९ हजार चार सय ५० मत खसेको थियो ।

यस्तै प्रदेशसभातर्फ २ (१) मा १३ हजार ५५ मत गणना हँुदा कांग्रेसका उम्मेदवार राजु खनालले पाँच हजार नौ सय ८४ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका उम्मेदवार बलिभद्र राना मगरले चार हजार नौ सय ३३ मत पाउनुभएको छ ।

क्षेत्र नं ३ मा गठबन्धनका उम्मेदवार बन्नुभएका कांग्रेसका नेता दीपक गिरीले अग्रता लिनुभएको छ । गिरीले तीन हजार दुई सय ६५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई एमालेकी उम्मेदवार कोमल वलीले दुई हजार दुई सय ५५ मत प्राप्त गरी पछ्याउँदै हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले एक हजार एक सय ५५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेशसभातर्फ ३ (१) मा कांग्रेसका डिल्ली चौधरीले चार हजार एक सय ४१ मत प्राप्त गर्नुभएको छ भने एमालेका घनश्याम पाण्डेले तीन हजार चार सय १७ मत प्राप्त गर्नुभएको छ । राप्रपाका उम्मेदवार हंसराज केसीले ६ सय ८१ मत प्राप्त गर्नुभएको छ ।