६ मंसिर, कास्की ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा कास्की क्षेत्र नं ३ मा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का दामोदर पौडेल (बैरागी) अगाडि हुनुहुन्छ ।

पोखरा–७ शहीदचोकस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा जारी मतगणनाको सुरुआतदेखि अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई उछिन्दै उहाँले चार हजार आठ सय ५१ मत प्राप्त गर्नुभयो ।

योगराजले चार हजार चार सय सात मतसहित पछ्याइरहँदा नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बरालले तीन हजार दुई सय सात मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभातर्फ सो क्षेत्रमा हालसम्म पोखरा महानगरपालिका–१, २, ३, १८ र १९ को गणना सकिएको छ । कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार ६ सय १४ मत खसेको थियो ।

कास्की–३ मा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको तीन र प्रदेशसभाको छ निर्वाचन क्षेत्र रहेको कास्कीमा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार पाँच सय २२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा एक लाख ७९ हजार नौ सय ६६ मत खसेको थियो ।