५ मंसिर, मकवानपुर ।
आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत मकवानपुर जिल्लामा दुईवटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झण्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।
मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । कूल मतदाता सङ्ख्या तीन लाख सात सय ३३ रहेको मकवानपुरमा कूल एक लाख ७८ हजार दुई सय ८२ अर्थात् ५९.३ प्रतिशत मात्रै मत खसेको थियो । तीमध्ये हाल बागमती गाउँपालिका–४ झुरझुरेको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । प्रत्येक निर्वाचन क्षेत्रको दुई दुई ठाउँमा मतगणना सुरु भएको छ ।