५ मंसिर, जुम्ला ।
आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जुम्लामा दिउँसोदेखि सुरु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिको पाँच मतदान केन्द्रबाट प्रतिनिधिसभाको मतगणना कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्ष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
बिहान बसेको सर्वदलीय बैठकले प्रदेशसभा र प्रतिनिधिसभाको फरकफरक ठाउँमा मतगणना गरिने निर्णय भएको मुख्य निर्वाचन अधिकृत गौतमले भन्नुभयो, “आयोगले निर्धारण गरेका बुँदा र केही बुँदामा सहमति जनाउँदै निर्धारित समय भन्दा केही समय ढिलो गरी मतगणना भएको छ ।” सबै मतगणना एकसाथ गरिएको मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।
मतगणनालाई सुरक्षित बनाउन तारजालीको व्यवस्था गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एक–एक जना प्रतिनिधि सहभागी हुनेछन । जिल्लामा ६८ हजार छ सय ३८ मतदाता छन । जिल्लामा एक सय छ मतदान केन्द्र र ८३ मतदानस्थल र दुई अस्थायी मतदान केन्द्रबाट निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा ६५ प्रतिशत मत खसेको छ ।