५ मंसिर, बैतडी ।

निङलाडी खोलामा जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।

प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियोे । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको छ । घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “आठ प्रहरी र एक चालकको अवस्था गम्भीर छ”, “उनीहरूलाई उपचारको लागि कोहलपुर पठाउने तयारी छ”, “घाइतेलाई पाटन विमानस्थलमा ल्याएका छाैँ, सेनाको हेलिकप्टर आउँदैछ ।”

जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ । जिपमा चालकसहित १२ जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको छ ।