४ मंसिर, काठमाण्डाै ।

ताप्लेजुङका हिमाली गाउँका मतपेटिकाहरू सोमबार मात्र सदरमुकाम ल्याउने तयारी भएको छ । फक्ताङलुङ गाउँपालिकामा पर्ने हिमाली बस्तीहरू घुन्सा, ग्याब्ला, याङ्मा र ओलाङचुङगोलाका मतपेटिका सोमबार बिहान हेलिकप्टरमार्फत ल्याउने तयारी भएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो ।

भौगोलिकरूपमा विकट यी ठाउँमा पैदल हुँदै पुग्न चार दिनसम्म लाग्ने भएकाले हेलिकप्टरमार्फत मतपेटिका ओसार्नुपर्ने बाध्यता रहेको हो । फक्ताङलुङ गाउँपालिका–७ स्थित याङ्मा पुग्न नै सदरमुकामबाट चार दिनको समय लाग्छ ।

यसअघि सो ठाउँमा आज सम्पन्न निर्वाचन गराउन गएको कर्मचारीको टोली चार दिनमा मात्र पुगेको थियो । यी चार मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याउन निर्वाचन आयोग र गृह मन्त्रालयसँग समन्वय भएको जनाइएको छ । निर्वाचन सकिएलगत्तै ल्याउन साँझको समय पर्ने भएकाले सोमबार ल्याउने तयारी भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।