४ मंसिर, काठमाण्डाै ।

सरकारले निर्वाचनको दिन बुथ कब्जा गर्न खोज्ने र मतपेटिका लुट्न खोज्नेमाथि गोली हान्नेसम्मको अधिकार प्रहरीलाई दिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले निर्वाचन सुरक्षार्थ खटिएको सुरक्षाकर्मीले जिम्मेवारी वहन नगरेर कुनै अप्रिय घटना घटेमा त्यस्तो प्रहरी अधिकारीमाथि पनि सजाय हुने बताए। ‘मतपेटिका लुटेको देख्दादेख्दै गोली नचलाउने प्रहरीलाई पनि कारबाही हुन्छ। मतदान केन्द्र तथा हरेक बुथको सुरक्षामा हतियारसहित प्रहरी तैनाथ हुन्छ,’ उनले भने, ‘शंकास्पद गतिविधि गर्ने, बुथ कब्जा गर्ने खोज्ने, मतपेटिका लुट्ने तथा च्यात्ने व्यक्तिलाई प्रहरीले सिधै गोली चलाउन पाउने अधिकार प्रत्यायोजन भइसकेको छ।’

नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहले ७ वटै प्रदेश सबै जिल्लाका सुरक्षा प्रमुखलाई फोन गरी मतदान केन्द्र र मतपेटिकाको उच्चतम सुरक्षा गर्न निर्देशन दिएका छन्। नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार निर्वाचनका लागि बनाइएको एकीकृत सुरक्षा योजनामा लिखित रूपमै यो अधिकार प्रदान गरिएको छ। राई भन्छन्, ‘मतदान स्थलमा मतपेटिका लुट्ने, अवान्छित क्रियाकलाप गर्ने तथा बुथमा आक्रमण गर्नेविरुद्ध स्थानीय प्रशासन ऐनअन्तर्गत अत्यधिक बल प्रयोग गर्ने तथा गोली हान्न सक्ने अधिकार छ।