४ मंसिर, काठमाडाैं ।

केन्द्रीय कारागार जगन्नाथदेवल मतदान केन्द्रबाट सात कैदीबन्दीले मतदान गरेका छन् । आठ कैदन्दीको मतदाता नामावलीमा नाम रहे पनि सात कैदीबन्दीले मतदान गरिसकेको मतदान अधिकृत ईश्वरीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

एक कैदीबन्दीको भने यसअघि नै अर्को कारागारमा स्थानान्तरण भएको थियो । बिहान ७ बजे नै मतदान सुरु भएमा ८ बजेअगावै उनीहरुले मतदान गरेका हुन् । सो मतदान केन्द्रमा आठ कैदीबन्दी र १२ कर्मचारी गरी २० जनाको मतदाता नामावली कायम थियो ।

मतदाता सूचीमा रहेका १२ मध्ये ११ कर्मचारी निर्वाचनमा खटिइएकाले मतदान अधिकृत पाण्डेले मात्र सो केन्द्रबाट मतदान गर्नुभयो । उहाँहरुले प्रतिनिधिसभाको समानुपातिकतर्फमात्र मतदान गर्नुभएको हो ।

समानुपातिकको मत आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र पाउने प्रावधान छ । केन्द्रीय कारागार मातहत रहेका तीनवटा कारागारमध्ये केन्द्रीय कारागारमा चार र भद्र बन्दीगृहका तीन बन्दीले मतदान गरेका हुन् ।

महिला कारागारमा रहेका कैदीबन्दीको भने मतदाता नमावलीमा नाम नरहेको बताइएको छ । केन्द्रीय कारागारमा तीन हजार चार सय बढी कैदीबन्दी रहेका छन् । निर्वाचन आयोगले पहिलोपटक मतदाता नामावलीमा नाम समावेश भएका कैदीबन्दीलाई मतदान गर्ने व्यवस्था गरेको थियो ।