७९ मंसिर १ काठमाडौ ।

काठमाडौं : नेप्से सूचक बिहीबार २५.५७ अंकले बढेको छ । यससँगै सूचक १९३६.८३ विन्दुमा आएको छ । १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो मंसिर ४ को चुनावअघिको अन्तिम कारोबार हो । अब बजार चुनावपछि अर्थात् मंसिर ६ गते मंगलबारमात्र खुल्नेछ । किनभने सरकारले मंसिर ५ गते पनि सार्वजनिक विदा दिएको छ । यसआधारमा बजारले चुनावलाई पनि स्वागत गर्दै बन्द भएको छ । यस दिन २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

ब्याजदर घट्न थालेको र अर्थतन्त्रका बिग्रिएका सूचकहरु सप्रिंदै जान थालेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिन थालेको छ । १८ सयको लाइनमा झरेको नेप्से ब्याजदर घट्न र अर्थतन्त्र ट्रयाकमा आउन थालेको खबर बाहिरिएसँगै पुनः १९ सय विन्दुमाथि उक्लिएको छ । सकारात्मक खबरहरु आउन थालेपछि नेप्सेले १८ सयकै लाइनमा बटम लगाएको र अब क्रमशः माथितिरको यात्रामा लाग्ने विश्लेषण पनि हुन थालेको छ । केहीले भने केही समय अध्ययन गर्नुपर्ने पनि बताइरहेका छन् ।

यद्यपि, पुँजी बजार लगानीकर्ताको मनोविज्ञानमा चल्ने गर्छ । लगानीकर्ता सकारात्मक हुन थालेपछि बजारको गति पनि सोही अनुसार प्रतिबिम्बित हुनेछ । विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिरका लागि निक्षेपको ब्याजदर घटाएका छन् । अब वाणिज्य बैंकहरुले पनि क्रमशः ब्याजदर घटाउने अनुमान गरिएको छ । ब्याजदर घट्नु भनेको सेयर बजारका लागि निकै सुखद् पक्ष हो । ब्याजदर घट्दै जाँदा सेयर बजार भने बढ्दै जान्छ ।

ब्याजदर यसअघि नै निकै उच्च विन्दुमा पुगिसकेको छ । शिखरमा पुगिसकेपछि तल झर्नैपर्ने हुन्छ । यस कुरालाई आम लगानीकर्ताले मनन् गर्न सक्नुपर्छ ।  वित्तीय प्रणालीमा विस्तारै तरलता सहज हुँदै गएको छ । बैंकहरुको लगानीयोग्य स्रोत पनि बढेको छ । सीडी रेसियो पनि क्रमशः तल झरिरहेको अवस्था छ । यी परिपेक्ष्यमा आगामी दिनमा वित्तीय संस्थाहरुले सेयर कर्जा पनि धमाधम उपलब्ध गराउन थाल्नेछन् । जसको सकारात्मक प्रभाव सेयर बजारमा देखिन थाल्नेछ ।  

 बुृधबारमात्रै केन्द्रीय बैंकले १४ महिनापछि पहिलोपटक मुलुकको शोधनान्तर अवस्था बचतमा गएको तथ्यांक सार्वजनिक गरेको छ यसैगरी, रेमिटेन्स पनि बढेको छ । समग्रमा मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा लागेको छ । यसले पनि पुँजी बजारमा सकारात्मक संकेत गरेको छ । यसैगरी, केन्द्रीय बैंक मौद्रिक नीति समीक्षाको तयारीमा जुटेको छ । समीक्षामार्फत लगानी वृद्धि, तरलता सहज पार्ने र ब्याजदर घटाउने उपकरणहरु आउने निजी क्षेत्रले अपेक्षा गरेको छ । यता, १५ महिनादेखि घटेको बजारमा सेयर भाउ निकै तल्लो विन्दुमा आइसकेको छ ।

यसर्थ, सबल वित्तीय सूचक भएका र उच्च लाभांश क्षमता रहेका कम्पनीहरुमा योजनाबद्ध हिसाबले लगानी गर्दै जान विश्लेषकहरुले सुझाव दिइरहेका छन् । यता, मंसिर ४ मा निर्वाचन हुँदैन । चुनावमा १ खर्बभन्दा बढी पैसा खर्च हुने विश्लेषण भइरहेको छ । यसरी खर्च भएको पैसा कुनै न कुनै हिसाबबाट प्रणालीमा पनि आउनेछ ।

यसले पनि तरलता बढाउन सहयोग गर्नेछ । समग्रमा लगानीकर्तामा उच्च र सकारात्मक मनोबल हुन आवश्यक देखिन्छ । यस दिन २२३ कम्पनीको ४३ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । १४ करोड ३९ लाख रुपैयाँसहित कारोबार रकममा रिडी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र हिमालयन डिष्टिलरी परेका छन् । (copi by, नेपाली पैसा)