२५ कात्तिक, काठमाडौं ।

बिहान भरतपुर–४, मा रहेको आनन्द चोकमा घन्टीहरुको एकोहोरो आवाज गुञ्जिरहेको थियो । तर आसपास भने कुनै मन्दिर वा धार्मिक सभा चलेका थिएनन् । यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभा हो । उनको पार्टीको चुनाव चिह्न घण्टी भएकाले समर्थनमा यो आवाज घन्किएको हो ।

लामिछानेले ‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रममार्फत विदेशमा दु:ख पाएका नागरिकका गुनासो सुनेर सम्बोधन गर्ने प्रयास गरेका थिए । उनले नागरिकलाई पिरपर्का परेका विषयमा तत्काल सरोकारवालासँग सम्पर्क गरेर समाधान खोज्ने प्रयासलाई कार्यक्रमको शैली बनाएका थिए ।
‘हिजो उहाँले कार्यक्रममा के–के गर्नु भएको छ सोच्नुस्, अनि आफैं विचार गर्नुस्’, भरतपुर–१, नारायणघाटका झलक थापाले बताए ।

‘पहिल्यैदेखि कांग्रेसमा भोट हालेको हो, तर केही काम गरेनन्’ ‘यसपालि रवि बाबुलाई जिताउन घरबाट घन्टी लिएर आएको छु’, सभाको पछिल्तिर उभिएकी ४१ वर्षकी निर्माया चापागाईंले सुनाइन् ।

रवि तिनै सञ्चारकर्मी हुन्, जो बेथिति र विसंगतिविरुद्ध टेलिभिजन कार्यक्रममा खरो उत्रन्थे । आक्रामक बनेर प्रस्तुत हुने उनको शैलीको एउटा वर्गले आलोचना गरेपनि जनतामाझ लोकप्रिय बन्यो ।

उनले यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई ‘स्टिङ अपरेशन’ भन्दै बनाएको कार्यक्रममै पीडितको खुट्टा ढोग्न लगाए । प्रहरीले गर्नुपर्ने काम आफैं गरेको आरोप लाग्यो ।
लमिछानेले चाहिँ आफू पत्रकार नभएको जिकिर गर्दै ‘कार्यक्रम प्रस्तोता’ मात्र भएकाले आफ्नो शैली भिन्न हुनु स्वाभाविक रहेको बताइरहे । तर यसपालि भरतपुरमा भेटिएका रवि चाहिँ सञ्चारकर्ममा रहँदाभन्दा विल्कुल भिन्न देखिए ।
उनले कसैलाई गाली गरेनन् । प्रतिष्पर्धीलाई पनि ‘सम्मान गर्ने’ बताए । अझ सभामै अरु राजनीतिक दलले गरेका ‘ऐतिहासिक योगदानलाई अवमूल्यन नगर्ने’ पनि सुनाए ।

रविको फेरिएको शैली चुनावी रणनीति पनि होला । तर, विगतमा खरो उत्रिने उनको आजभोलिका भाषण सुन्दा जोकोहीलाई रविको बदलिएको अनुहार स्पष्ट देखिन्छ ।
रवि स्वयं पनि भन्छन्, ‘म खरो र दह्रो बोल्न नसक्ने मान्छे होइन । तर, अहिले त्यो गल्ली छाडेर मूल बाटोमा आएको छु ।’ ‘चुनाव मिति पनि झुक्किने नेताहरु भएपछि कसरी चल्छ’, उनले भने, ‘अब हरेक क्षेत्रमा युवा आउनुपर्छ ।’