७९ कात्तिक २३ काठमाडौ ।
श्रोत: मुलबाटो
काठमाडौं । चार कम्युनिस्ट पार्टीको संयुक्त निर्वाचन बहिस्कार÷अवज्ञा सभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले यो कथित लोकतन्त्र अभिजातन्त्रमा परिणत भएको बताउनु भएको छ । उहाँले यो कथित लोकतन्त्रमा गरिबहरुका लागि, दलित, महिला, मधेसी, आदिवासी जनजाति, मजदुर, किसान, भूमिहिन सुकुम्बासी सबै श्रमजीवी वर्ग र उत्पीडित समुदायको लागि ठाउँ नरहेको चर्चा गर्दै यो अभिजाततन्त्रीय लोकतन्त्र फालेर नयाँ जनवादी गणतन्त्रको स्थापना गर्न अब नयाँ क्रान्तिको तयारीमा जुट्नुपर्ने आवश्यकता औल्याउनु भयो । त्यसका लागि छरिएर रहेका क्रान्तिकारीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनु भयो । महासचिव किरणले नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस् पार्टी नेपालको संयुक्त निर्वाचन बहिस्कार÷अवज्ञा आन्दोलन त्यसैदिशातर्फ अगाडि बढिरहेको पनि बताउनु भयो ।

• झापा विद्रोह, दशवर्षे जनयु्द्ध लगायत विभिन्न आन्दोलन देशमा रहेको संसदीय व्यवस्थाको अन्त्य गरेर नयाँ जनवादी व्यवस्था स्थापनाका लागि गरिएको र यति धेरै रगत बगाएर पनि नेतृत्वको धोका र गद्दारीका कारण पुनः संसदीय व्यवस्था नै संस्थागत हुन पुगेको सुनाउनु भयो । उहाँले लोकतान्त्रिक गणतन्त्र नामको अहिलेको संसदीय व्यवस्थामा सामन्तवर्ग, नोकरशाही पुँजीपति वर्ग र दलाल पुँजीपति वर्गमा मूलतः दलाल पुँजीपतिवर्गको हालीमुहाली बढेको चर्चा गर्दै यो व्यवस्थाभित्रका तीनवटा अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका पूर्णरुपमा असफल भइसको ठोकुवा गर्नुभयो ।