१० फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गर्न विपक्षी नेकपा एमालेसँग सहयोग मागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भएको छलफलमा उनले एमसीसी अनुमोदनका लागि सहयोग मागेका छन् । गठबन्धन भित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए ।

तर एमाले अध्यक्ष ओलीले ६ महिनादेखि संसदभित्रै आन्दोलनमा रहेको भन्दै एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसक्ने दोहोर्‍याएका थिए । भेटबारे एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले लेखेका छन्, ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।’

सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्दा पनि एमाले सांसदहरूले रोष्ट्रममा नाराबाजी गरिरहे ।  संसदको अर्को बैठक फागुन १२ गतेका लागि बोलाइएको छ । त्यो बैठकमा एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल थाल्ने र केही दिनमा अनुमोदन गर्ने सरकारी तयारी छ । तर सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा छन् । मंगलबारको भेटमा प्रधानमन्त्रीसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का थिए ।