काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्न प्रमुख विपक्षी नेकपा एमालेसँग सहयोग मागेका छन् ।

सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्रीले एमालेसँग छलफल थालेका हुन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग भएको छलफलमा उनले एमसीसी अनुमोदनका लागि सहयोग मागेका छन् ।

प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसीसी सम्झौता अनुमोदनमा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए ।

तर एमाले अध्यक्ष ओलीले ६ महिनादेखि संसदभित्रै आन्दोलनमा रहेको भन्दै एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसक्ने दोहोर्‍याएका थिए । भेटबारे एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले लेखेका छन्, ‘हाम्रा पार्टी अध्यक्ष कमरेडले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ ।’

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारबाहीलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै २३ भदौदेखि संसद अवरोध गर्दै आएको छ ।

सरकारले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्दा पनि एमाले सांसदहरूले रोष्ट्रममा नाराबाजी गरिरहे । नियमित प्रक्रियामै भाग लिएनन् ।

मंगलबारको भेटमा प्रधानमन्त्रीसँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का थिए । नेकपा एमालेका तर्फबाट ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।