६ फागुन, काठमाडौँ – एमसीसी नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनदेखि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ । ‘एमसीसी’ को विरोधमा शुक्रबार पनि बानेश्वरमा प्रदर्शन भएको छ ।

एमसीसीको विरोधमा प्रदर्शन गर्दै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल मजदूर किसान पार्टी, नेकपा लगाएतका राजनीतिक दलका नेता कार्यकर्तासहित विभिन्न समूहहरु बानेश्वर पुगेको छ । सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ । शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।

नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा समाजवादी निकट अनेरास्ववियुले नाराबाजी गर्दै एमसीसी विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन’ भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।