१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार  न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको भन्दै सत्तारूढ दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन्।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित ९८ जना सांसदले हस्ताक्षर गरेका छन् ।  आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्न नसकेपछि २१ बुँदे कारणसहित महाअभियोग लगाउनुपरेको प्रस्तावक गुरुङले बताए।