२८ माघ, काठमाडौं । सरकारले देशभर लागू हुने गरी प्रतिलिटर ९ रुपैयाको दरले दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास  संस्थान (डीडीसी) ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरेको छ ।

निजी डेरीहरूले पनि मूल्यवृद्धिबारे छलफल गरेका छन् र केही दिनमा नयाँ मूल्य तोक्ने बताएका छन् । डीसीसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सजीव झाले भन्छन्, ‘संस्थानको सातवटा दूग्ध विकास आयोजनाबाट उत्पादन हुने विभिन्न ब्राण्डका चार प्रकारका दूधको मूल्य बढाउने निर्णय भएको छ । सबै प्रकारको दूधको मूल्य बढेको छ,’ ।

दूधको लागत मूल्यसमेत नउठेको भन्दै केन्द्रीय दूग्ध सहकारी संघ लिमिटेडले मूल्य वृद्धिका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गरेपछि अध्ययनका लागि समिति गठन गरेको थियो । समितिले दिएको प्रतिवेदनका आधारमा मूल्य बढाउने प्रस्ताव कृषि मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो । सरकारले सोही प्रस्ताव अनुसार, दुधको मुल्य वृद्धि गर्ने निर्णय गरेको हो ।