२३ माघ, काठमाडौं ।

नेपाली कांग्रेस पार्टीको सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन गर्ने लिखित प्रतिवद्धता गरेको सार्वजनिक भएको छ ।

देउवा र प्रचण्ड दुवैले २९ सेप्टेम्बर अर्थात् असोज १३ गते मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) बोर्डका अध्यक्षलाई सम्बोधन गर्दै  पठाइएको संयुक्त पत्रमा एमसीसी संसदबाट अनुमोदन गर्न दुवै नेताले प्रतिवद्धता जनाउँदै चार/पाँच महिनाको समय मागेका थिए ।

Photo Credit Online Khabar

कात्तिक १८ गते स्कटल्यान्डको ग्लास्गोमा जारी कोप–२६ मा सहभागिता जनाएर स्वदेश फर्किएका प्रधानमन्त्री शेर बहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धतासहितको पत्र पठाएको खुलासा गरेका थिए । ‘प्रचण्डजी र मैले एमसीसी पास गराउँछौं भनेर अमेरिकालाई पत्र पठाइसकेका छौं’, उनले भनेका थिए । तर प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धतासहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए ।