२१ माघ, काठमाडौं । हिजो रातिदेखिको निरन्तर वर्षाले काठमाडौंको चन्द्रागिरिमा हिमपात भएको छ । चन्द्रागिरिमा हिउँ खेलेर रमाइलो गर्नेहरूको घुइँचो लागेको छ ।

हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिरलगायतका क्षेत्रहरु सेताम्य भएका छन् । चन्द्रागिरि डाँडामा हिउँ परेको यो वर्ष दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता हिमपात भएको थियो ।

पश्चिमी न्यूनचापीय प्रणाली (वेस्ट्रन्ली डिस्ट्रबेन्स) को शक्तिशाली प्रभावका कारण शुक्रबार बिहानैदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका उच्च पहाडी र हिमाली भागमा बाक्लो हिमपात भइरहेको छ । हिमपातका कारण केही स्थानमा राजमार्ग अवरुद्ध भएका छन् ।