प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ ।बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

विशेष अधिवेशन विश्वासको मतको प्रयोजनका लागि बोलाइएकाले अन्य कुनै पनि बिजनेस छैन । बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेकाले प्रतिनिधिसभा बैठक बस्न आवश्यक रहेको व्यहोराको पत्र यसअघि नै राष्ट्रपति कार्यालयले संसद सचिवालयलाई पठाएको छ । सभामुखले सो पत्र पढेर सुनाएपछि आफ्नो अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको नामावली वाचन गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यसहित विश्वासको मत माग्ने छन् । प्रधानमन्त्रीले राखेको सो प्रस्तावमा छलफलका लागि समय निर्धारण गरिने छ । दलीय आधारमा सांसदहरुले आफ्नो मत राख्नेछन् । त्यसपछि प्रधानमन्त्री ओलीले छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।