नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको सचिवालय बैठकले प्रधानमन्त्री केपी ओलीले अधिनायकवादी र निरंकुश चरित्र देखाएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकले पछिल्लो समय केपी ओलीले अधिनायकवादी र निरंकुश चरित्रको प्रदर्शन गरेको भन्दै त्यसलाई तत्काल रोक्न चेतवानी दिने निर्णय गरेको हो ।

बैठकले पार्टीको सम्पूर्ण निकायलाई पार्टीको सुदृढीकरणमा लाग्न र संघर्षका कार्यक्रमलाई प्रभावकारी रूपमा सफल पार्न निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताए । सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरिएकोमा आफूहरूको विरोध रहेको बताए ।

प्रतिनिधिसभा विघटनपछिको प्रधानमन्त्री ओलीको पहिलो सम्बोधनलाई अस्वीकार गर्दै राष्ट्रिय सभाको आइतबारको बैठकमा सहभागी नभएको पनि उनको भनाइ छ ।