कृषिमन्त्री पद्मा अर्याललाई गृहजिल्ला स्याङ्जामा कालो झन्डा देखाइएको छ । वालिङको पतञ्जली भवन अगाडि कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृहजिल्ला आएकी मन्त्री अर्याललाई तरुण दल र नेबिसंघले कालो झन्डा देखाउँदै विरोध जनाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको कार्यक्रमअन्तर्गत वालिङमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको तरुण दल वालिङ नगर सभापति आशिषप्रताप खाँणले बताए । सोही समयमा आएकी मन्त्री अर्याललाई कालो झन्डा देखाएर विरोध गरिएको उनले बताए । उनका अनुसार शनिबार एक घण्टा सिद्धार्थ राजमार्गमा चक्काजाम गरिएको छ ।