जनकपुरधाम , ६ बैशाख ।

जनकपुरधाम स्थित महाबीर चोकमा शुक्रबार १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर भागेका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा आमुना खातुन र अलिना खातुन छन् र उनीहरु नातामा नन्द-भाउजू हुन् ।

धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी रामेश्वर कार्कीले रकम छरेर फरार दुवै महिलालाई जनकपुरधाम ७ स्थित उनीहरुकै निवासबाटै नियन्त्रणमा लिएको जानकारी दिए ।

शुक्रबार , महावीर चोकमा १० रुपैयाँको झण्डै १५ वटा नोट छरेर उनीहरू फरार भएका थिए । नोट छरेर फरार भएपछि त्यस क्षेत्रमा डर र त्रास बढेको थियो ।

उनीहरुले रकम किन छरेको हो ? भन्ने सन्दर्भमा अनुसन्धान हुन बाँकी रहेको कार्कीले बताए । कार्कीले छरिएको नोट कोरोना संक्रमण सम्बन्धी शंकास्पद भएकाले परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जानकारी दिए ।

ती नन्दभाउजू पक्राउ परे लगत्तै प्रादेशिक अस्पताल जनकपुरधाम लगी स्वास्थ्य परीक्षण गराउँदा एक जनाको र्यापिड टेस्ट पोजेटिभ आएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

उनले र्‍यापिड टेस्ट पोजेटिभ देखिएपछि दुबैलाई अस्पतालको आइसोलेसन वार्डमा राखिएको बताए ।