सिन्धुली , ४ बैशाख ।

सरकारले कोभिड–१९ को संक्रमण पहिचानका लागि ‘ रियल टाइम पीसीआर ‘ परीक्षणको संख्या घटाउन थालेको छ । राष्ट्रमा दोस्रो चरणको कोभिड–१९ संक्रमण भइरहेकाले पीसीआर परीक्षण धेरै भन्दा धेरै हुनुपर्ने विज्ञहरुले सुझाव दिँदै आइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शनिबार सरकारले २४ घण्टामा ८ सय ९७ जना र बुधबार ५ सय जनाको पीसीआर विधीबाट स्वाब परीक्षण गरेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार नियमित पत्रकार सम्मेलनमा हालसम्म ६ हजार ८ सय ७१ नमुना पीसीआरबाट परीक्षण गरिएको जानकारी दिए । यसअघि स्वास्थ्य मन्त्रालयले दिनहुँ २४ घण्टामा पीसीआरबाट हुने गरेको परीक्षणको संख्या स्पष्ट बताउने गरिएको थियो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार मन्त्रालयमा जनस्वास्थ्य विज्ञहरुसँग भएको छलफलमा पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने सुझाव व्यापक आएको थियो । विशेषज्ञहरुले कम्तीमा बाहिरबाट आएका र उनीहरुको सम्पर्कमा आएका सबै व्यक्तिको पीसीआर परीक्षण गर्नुपर्ने बताउँछन् ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले चेतावनी दिए । ” फल्स निगेटिभ र फल्स पोजेटिभ अत्यधिक मात्रामा देखाउने आरडीटी किटबाट अहिले जाँच गर्नुको औचित्य छैन, ” उनले भने । भाइरस देखिए पीसीआर नै गर्नुपर्ने भन्दै डा. मरासिनीले आरडीटी किटबाट कुनै एउटा पोजेटिभ फुत्किएर समाजमा संक्रमण फैलाए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताए । अहिले आरडीटी किटले समस्यामा पार्ने अवस्था बढी देखिएको डा. मरासिनीको गुनासो छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म आरडीटी किटबाट ८ हजार ९ सय २९ नमुना परीक्षण गरिएको छ । आरडीटी परीक्षण गर्न १४ जिल्ला मात्र बाँकी छ । प्रदेश १ का ७, प्रदेश २ का ३, गण्डकीको १, प्रदेश ५ को १, कणालीका २ जिल्लामा आरडीटीबाट परीक्षण हुन बाँकी छ । वाग्मती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा आरडीटी किटबाट परीक्षण सुरु भएको मन्त्रालयले जनाएको छ ।