सिन्धुली , ३ बैशाख ।

काठमाडौंको पेप्सीकोला टाउनप्लानिङस्थित कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’मा बसोबास गर्ने २९६ जनाको र्‍यापिड डाग्नोस्टिक टेस्ट ( आरडीटी ) किटबाट कोभिड–१९ को एन्टिबडी परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।

नगरपालिकाका मेयर कृष्णहरी थापाका अनुसार परिक्षण गरिएका मध्ये कसैको पनि रिपोर्ट पोजिटिभ आएको छैन। ” सबैको रिपोर्ट निगेटिभ आएको स्वास्थ्य सेवा विभागबाट आउनुभएका चिकित्सकले जानकारी दिनुभएको छ, ”  उनले भने।

मेयर थापाका अनुसार सो अपार्टमेन्टमा बस्ने सबै व्यक्ति तथा वरपर रहेका पसलधनीहरुको पनि आरडीटी गर्नुपर्ने स्वास्थ्य सेवा विभागबाट आएको टोलीको निष्कर्ष छ। ” विभागको टोली र हामीले अध्ययन गर्दा लगभग १३०० जना जतिको आरडीटीबाट परिक्षण गर्नुपर्ने देखेका छौं। ” थापाले बताए ।

बैशाख १ गते नगरपालिकाले विदेशबाट आएका ३६ जनाको परिक्षण गर्ने क्रममा सनसिटीमा बसोबास गर्ने एकै परिवारका तीनजनाको परिक्षण रिपोर्ट पोजिटिभ आएको थियो। त्यसपछि उनीहरुको पीसीआरबाट परिक्षण गर्दा ८१ वर्षीया आमा र ५८ वर्षीय छोरामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो भने ५२ वर्षीया बुहारीको रिपोर्टभने निगेटिभ आएको थियो। उनीहरु तीनैजना चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएका थिए। उनीहरुको अहिले पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना छन्।