सिन्धुली , २ बैशाख ।

विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ )ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक भएको बताउँदै यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा जोड दिएका हुन् । उनले भनेका छन्, ” हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ । ”

डब्लुएचओका प्रमुख गेब्रियससले अहिले केही मुलुकमा प्रत्येक तीनदेखि चार दिनको अवधिमा कोभिड–१९ का संक्रमितको संख्या दोब्बर भइरहेको भन्दै चिन्ता व्यक्त गरे । उनले यसलाई रोक्न पहिचान, परीक्षण, आइसोलेसन, उपचारका साथै सम्पर्कमा रहेका मानिसको ट्रेसिङमा जोड दिन आग्रह गरे । अहिले विश्वको आधाभन्दा बढी मानिसहरु घरमा नै बसिरहेका छन् । तर यो कडाइ केही खुकुलो बनाउने हो भने यो महामारी अझै बढ्न सक्ने डब्ल्यूएचओका प्रमुखको भनाइ छ । कोभिड–१९ फैलिँदा जति छिटो फैलिएको थियो, नियन्त्रण भने निकै सुस्त गतिमा आएको डब्ल्यूएचओको निष्कर्ष छ । त्यसैले यसलाई एकैपटक नियन्त्रण गर्न नसकिने बताइएको छ । गेब्रियससले सही समय नआउँदासम्म सामाजिक कडाइको नियम जारी राख्नुपर्ने बताएका छन् ।