सिन्धुली , २ बैशाख ।

र्यापिड टेस्टमा कोरोनाकाे लक्षण देखिएका काठमाडाैंकाे पेप्सिकाेलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका आमा र छोराकाे नमुना मंगलबार पिसिआर प्रविधिबाट परीक्षण गर्दा काेराेना भाइरस पाेजेटिभ देखिएकाे छ ।

सोमबार नगरपालिकाले विदेशबाट आएकाको र्यापिड टेस्ट गर्दा एकै परिवारका आमा, छोरा र बुहारीमा पोजेटिभ देखिएपछि तत्काल पाटन अस्पताल भर्ना गरिएको थियो । बुहारीकाे नमुना परीक्षण अझै स्पष्ट हुन नसकेकाले थप परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरू ५ चैतमा बेलायतबाट आएका थिए । र्यापिड टेस्टमा तीनजनाको पोजेटिभ देखिएपछि प्रहरीले सोमबारै अपार्टमेन्ट सिल गरेको छ । अपार्टमेन्टभित्र करिब पाँच सय परिवारका १८ सय बस्छन् । अपार्टमेन्टका कसैलाई पनि बाहिर–भित्र गर्न दिइएको छैन ।

त्यसैगरी वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्यापिड डाइग्नोस्टिक टेस्ट ( आरडीटी ) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

बेथानचोक–५ का ती युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए। यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए। नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनीहरु घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।

अर्का , धादिङ ज्वालामुखी गाउॅँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षीय युवकको र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको छ । ज्वालामुखी–३, अमराई निवासी ती युवक गत फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने छ। ” नेपाल फर्किएपछि उनीसँग सम्पर्कमा आएका परिवार लगायत स्थानीय व्यक्रिहरुबारे खोजि गर्दैछौं । ” प्रमुख अस्मान तामाङले बताए ।

भर्खरै , दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुई जनाको आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएको छ । गजेन्द्रनारायण सिह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार मंगलबार गरिएको ७ जनाको र्‍यापिड डाइगनोस्टिक टेस्ट ( आरडीटीं ) मा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको छ। अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको डा. दासले जनाए।

रिपोर्ट पोजेटिभ देखिएकामध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको उनले जानकारी दिए। पोजिटिभ देखिएकाहरुलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आईसोलेसनमा राखिएको छ भने बाँकी ५ जनालाई खडग नगरपालिकाको क्‍वारेन्टाइनमा पठाइने डा. दासले जनाए। पोजिटिभ र नेगेटिभ रिपोर्ट आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।

हालसम्म , नेपालका १६ जनामा कोरोना संक्रमण देखिएको छ भने पिसिआर र आरटिडि प्रविधीबाट कुल १२,९०६ जनाको परिक्षण गरिएको, ५७७१ जना क्वारेनटाईनमा र आईसोलेसनमा ९९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमितमध्य १ जना उपचारबाट ठिक भएर घर फर्किसकेका छन् ।