” बहुत बडी खबर ” भन्दै शुत्रवार केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा विवादास्पद समाचार प्रशारण गरेका थिए । नेपालको बोर्डरमार्फत भारतमा कोलोना फैलाउने भीषण षडयन्त्र भएको ” सनसनीपूर्ण खुलासा ” उक्त समाचारमा संप्रेषण गरिएको थियो ।

भारतीय मिडियाबाट इन्डिया टुडेले यस विषयमा भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम र प्रहरीका एसपी लाई लेखेको पत्र देखाएको छ ।

४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमाण्डरले लेखेको पत्र

पत्रमा नेपालको पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिकाका जालिम मुखियाले भारतमा कोरोना फैलाउने षडयन्त्र गरिरहेको सूचना आएको दाबी गरिएको छ । उक्त पत्रको व्यहोरामा लेखिएको छ, ” अत्यन्त विश्वस्त सूत्रहरुबाट प्राप्त सूचनाअनुसार पर्सा जिल्ला ( नेपाल ), जानकी टोला,  जगन्नाथपुर गाउँका जालिम मुखिया नाम गरेका एक व्यक्ति भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेका छन् । उनी नेपालबाट अवैध हातहतियार र नक्कली नोटको भारतमा ओसारपसार गर्नसमेत संलग्न छन् । यसका साथै, उनले लकडाउनका क्रममा विभिन्न मुस्लिम देशमा काम गरिरहेका भारतीय मुस्लिम नागरिकलाई सीमा पार गराउने जिम्मेवारी पनि लिएका छन् । सूत्रका अनुसार ५–६ जना पाकिस्तानी नागरिकसहित दुई सय जनाजति भारतीय मुस्लिम नेपाल आएका थिए र उनीहरु अहिले चन्दनबस्रा र खैरवा गाउँमा रहेका मदरसाहरुमा बसिरहेका छन् । सुत्रका अनुसार ४०–५० संदिग्ध भारतीय मुस्लिम नागरिकहरु आज आइपुग्ने छन् र आगामी दिनमा अरु धेरै आउन सम्भावना छ । सूत्रका अनुसार यी नागरिकहरुले शरीरको तापक्रम घटाउन प्यारासिटामोल ट्याबलेट खाइरहेका छन् र उनीहरु कोरोना पोजिटिभ हुन सक्छन् । तपाईंको सूचनाका लागि यो पत्र प्रेषित गरिएको छ र सरोकारवाला निकायका साथै नेपालको जिल्ला प्रशासनका अधिकारीहरुलाई सतर्क तुल्याउन अनुरोध गरिन्छ । ”

एसएसबीको यही पत्र समावेश गर्दै पश्चिम चम्पारण, बेतियाका जिल्ला पदाधिकारी कुन्दन कुमारले बेतिया प्रहरीलाई अर्को पत्र लेखेका छन् । उक्त पत्रमा नेपाल–भारत सीमामा यथेष्ट सतर्कता अपाउन र सन्दिग्ध गतिविधिलाई कडा निगरानी गर्न आग्रह गरिएको छ । साथै, नेपालसँग सीमा जोडिएका सात जिल्लाका एसपीहरुले थानेदारलाई चिठ्ठी लेख्दै भारत र नेपालका गुप्त बाटोहरुमा नजर राख्न भनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पश्चिम चम्पारण, बेतियाका जिल्ला पदाधिकारी कुन्दन कुमारले बेतिया प्रहरीलाई लेखेको पत्र

यस विषयमा बिहारका डीजीपी गुप्तेश्वर पाण्डेयले भारतीय च्यानल टिभी नाइनसँग भनेका छन्, ” हाम्रो नेपालसँग जोडिएका बोर्डरका सबैलाई सतर्क रहन भनिएको छ । अर्को देशबाट भारत छिर्न असम्भव छ । ” त्यसैगरी पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्त यसो भन्छिन, ” अहिले नेपाल र भारत दुबै देशमा पूर्ण लकडाउन छ । भारतपट्टि अझै बढी कडाई छ किनकी उनीहरुसँग एसएसबी धेरै संख्यामा छन् । यस्तो अवस्थामा कसैलाई लुकिछिपी नेपालबाट सीमा पार गराउन सम्भव नै छैन । एसएसबीले छिर्न दिन्छन् र ? त्यसैले यो आधारहीन कुरा हो । जिल्लामा हामीले लकडाउन कडाईका साथ पालना गराइरहेका छौँ। यसका लागि हामीलाई कसैको पत्र आउनै पर्दैन । हामी सतर्क नै छौँ । जिल्लाका सबै गाउँपालिकासँग निकट रहेर काम गरिरहेका छौँ ।

एसएसबीको पत्रमा जालिम मुखियाको नाम,ठेगाना उल्लेख भए पनि परिचय खुलाइएको छैन । तर, इन्डिया टिभीको रिपोर्टमा भने उनी जगरनाथपुर गाउँपालिकाका प्रमुख भएको उल्लेख गर्दै तस्वीर पनि देखाइएको छ । पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँ हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । मधेसी समुदायमा गाउँका अगुवालाई मुखिया भनेर सम्बोधन गर्ने गरिन्छ । त्यसैले एसएसबीले ईंगित गरेका व्यक्ति उनै अध्यक्ष जालिम मियाँ नै भएको अनुमान गरिएको छ । एसएसबीले उनी जाली नोट र अवैध हतियार ओसारपसारमा संलग्न रहेको गम्भीर आरोप लगाएको छ । उनी नेकपा अध्यक्ष प्रचण्डसँग निकट नेता हुन् । उनी विगतमा काठ तस्करीलगायत केही विवादमा मुछिए पनि जाली नोट र अवैध हतियारको कारोबारमा संलग्नताबारे पर्साको प्रहरी स्रोतले अनभिज्ञता दर्शायो ।

भारतीय मिडियाले आफ्नो तस्वीर राख्दै समाचार प्रशारण गरेपछि जालिम मियाँले फेसबुकबाट संक्षिप्त प्रष्टीकरण दिएका छन् । त्यसमा उनले भनेका छन्, ” भारतसँग हाम्रो मित्रताको सम्बन्ध छ, रोटीबेटीको सम्बन्ध छ । जालिम मियाँले यस्तो षड्यन्त्र गर्ने कारण के छ ? चाइनामा जालिम मियाँले कोरोना फैलाएको हो ? अमेरिका, फ्रान्स, इटली सारा देशमा जालिम मियाँले फैलाएको हो ? यो संकटको समयमा केही राजनीतिक व्यक्तिबाट मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ । कि ममाथि लागेको आरोप प्रमाणित गरियोस्, सजाय भोग्न तयार छु । होइन भने ममाथि षड्यन्त्र गर्नेहरुलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गर्छु। यस विषयमा मैले गृह मन्त्रालयलाई एसएमएस पठाएको छु । जिल्लाका सीडीओसँग पनि समन्वय गर्नेछु ।

जगरनाथपुर गाउँपालिकाले उक्त समाचार प्रशारित भएसँगै एउटा विज्ञप्ति जारी गरी भारतीय मिडियामा प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत अमितकुमार गिरीले जारी गरेको विज्ञप्तिमा कुनै तथ्य–प्रमाणविना नेपाली नागरिकको चरित्र हत्या गरिएको भन्दै यो विषयमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावाससँग खेद प्रकट गर्नुपर्ने माग गरिएको छ ।

जगरनाथपुर गाउँपालिकाले जारी गरेको विज्ञप्ती

भारतीय मिडियाले सशस्त्र सीमा बल र बिहारको स्थानीय प्रशासनबीच भएको पत्राचारको आन्तरिक दस्ताबेज सार्वजनिक गर्दै पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया अन्सारीको तस्बिरसहित निन्दा गरिरहेका छन् । नेपालबाट भारतमा कोरोना भित्र्याउन खोजेको आरोप लगाइरहेको अवस्थामा नेपाल सरकारले भारतसँग औपचारिक रूपमा न कुनै प्रश्न सोधेको छ न त भारतले नेपाललाई नै औपचारिक जानकारी गराएको छ ।

नेपाली गृह अधिकारीहरूले अनौपचारिक रूपमा बुझ्दा भारतीय अधिकारीले सुरक्षा निकायले गरेको आन्तरिक चिठीपत्र र सुरक्षाको आन्तरिक आकलन मात्र भएको र त्यसको सत्यतामाथि एसएसबीले छानबिन गरिरहेको जवाफ दिएका छन् । जालिमले भने संकटका वेला भारतका विभिन्न गिरोहले सञ्चारमाध्यम प्रयोग गरेर नेपालमा मुस्लिम र हिन्दूबीच साम्प्रदायिक सद्भाव भड्काउन खोजेको आरोप लगाएका छन् ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएको भारतीय सुरक्षा मूल्यांकन पत्र गृह मन्त्रालयमा पठाएर जालिमका बारेमा आएका समाचारको जानकारी दिएको बताए । उनले भने, ” हामीले गृह मन्त्रालयलाई समाचारमा सार्वजनिक भएको विषयबारे जानकारी दिएका छौँ । गृहले हामीलाई थप केही भनेको छैन, हामीलाई औपचारिक रूपमा भारतीय अधिकारीले पनि केही भनेका छैनन् । ”

गाउँपालिकाका अध्यक्ष जालिम मियाँले भने , ” संकटका वेला नेपालविरुद्ध षड्यन्त्र भएको छ । यो मूर्खतापूर्ण विश्लेषण हो । मिडियाले पनि त्यसैलाई आधार मानेर नेपालविरुद्ध षड्यन्त्र गरिरहेका छन् । हामीलाई नलाग्ने, हामीले कोरोना भारतमा पठाउन सक्ने भन्ने पनि कुनै तर्क हो ? मलाई भारतीय मिडियाले भाइरस उत्पादक भएजसरी चित्रण गरिरहेका छन् । संकटका वेला नेपालविरुद्ध षड्यन्त्र भएको छ । यसलाई बुझ्नुपर्छ। ”

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार एसएसबीका अफिसरले आफूभन्दा माथिल्लो निकायमा पठाएको नियमित ब्रिफिङको पत्र हो त्यो । आन्तरिक पत्र लिक भएको विषयमा एसएसबीले अनुसन्धान गरिरहेको जानकारी पाएको ती अधिकारीले बताए ।