सिन्धुली , ३० चैत ।

कोरोना भाइरस (कोभिड–१९) को कारण अमेरिकामा मृत्यु हुने मानिसको संख्या २० हजार नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार आइतबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ५ सय ६ पुगेको छ ।

त्यस्तै अमेरिकामा करिब ५ लाख २७ हजार जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये ३१ हजार ४ सय २४ जना निको भएका छन्। न्युयोर्कमा समग्र संक्रमितको संख्या पनि एक लाख ८१ हजार नाघेको छ । यससँगै अमेरिकाले कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा इटालीलाई पछि पारेको छ । इटालीमा अहिलेसम्म यो भाइरसको कारण १९ हजार चार सय ६८ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले पुरै विश्वलाई आक्रान्त बनाएको छ। यो समाचार प्रकाशन पार्दासम्म विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८ हजार ७ सय २ पुगेको छ। त्यस्तै करिब १७ लाख ७३ हजार कोरोना संक्रमित हुँदा करिब ४ लाख निको भएका छन्।

यसैबीच विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले लकडाउन हटाए वा खुकुलो पारेमा घातक हुने चेतावनी दिएको छ। संक्रमण अझै पनि नियन्त्रणउन्मुख नभएकाले लकडाउन, सामाजिक दूरी र व्यक्तिगत दूरी कायम गर्नुपर्ने डब्लूएचओले बताएको छ।