सिन्धुली , २९ चैत ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार शनिबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ६ सय ७ रहेको छ ।

त्यस्तै शनिबार बिहानसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ९४ हजारभन्दा बढी रहेको छ। संक्रमितमध्ये करिब ३ लाख ७६ हजार भने निको भएका छन् ।

कोरोना भाइरसको नयाँ इपिसेन्टर बनेको अमेरिकामा मात्रै शनिबार बिहानसम्म १८ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या करिब ५ लाख रहेको छ भने निको हुनेको संख्या २८ हजार ७ सय ९० रहेको छ। अमेरिकामा शुक्रबार मात्रै २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ। अमेरिकाका ५० वटै राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने न्युयोर्क सबैभन्दा बढी प्रभावित भएको छ। कोरोना भाइरसबाट अमेरिकाको योमिङ राज्यमा भने अहिलेसम्म कसैको मृत्यु भएको छैन।