भक्तपुर, २६ चैत ।

चैत २७ बाट सुरु हुने भक्तपुरको बिस्का जात्रा अर्थात बिस्केट जात्रा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै औपचारिक पूजामा मात्र सीमित गर्ने निर्णय भएको छ ।

विश्वव्यापी रुपमा महामारीको फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणलाई मध्यनजर गर्दै भक्तपुर नगरपालिकाले जात्रासँग आज सम्वन्धित सम्पूर्ण सरोकारवालासँग छलफल गरेर यस बर्ष बिस्का जात्रालाई औपचारिक पूजामा सीमित गर्ने निर्णय लिएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्वव्यापी रुपमा महामारीका फैलिरहेको कोरोना भाइरसबाट विश्व भरी ८२ हजार भन्दा बढीको ज्यान गईसकेको र १४ लाख भन्दा बढी संक्रमण भैसकेको अवस्थालाई मध्यनजर गरी जात्रामा हुन सक्ने सम्भावित जोखिमबाट बच्नको लागि यसपालीको बिस्का जात्रा भीडभाड नगरी औपचारिक पूजामा मात्र सीमित गर्ने निर्णय बैठकले लिएको जानकारी दिनुभयो ।