काठमाण्डौ , १२ चैत ।

नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण भेटिएको छ । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ तर तीमध्ये एक जना निको भइसकेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्दा कोरोनाभाइरस भएको पुष्टि भएपछि ती सङ्क्रमित व्यक्तिलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अलग्ग राखिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार ३०-३१ वर्षका ती संक्रमित व्यक्ति केही दिनअघि एक खाडी मुलुकबाट नेपाल आएका थिए। विभिन्न लक्षणसहित अस्पतालमा भर्ना भएका ती युवकबाट सङ्कलित नमुनाको पीसीआर विधिद्वारा परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएकोमा ६८४ को रिपोर्ट नेगेटिभ आएको छ।

यसअघि सङ्क्रमण भएको पुष्टि भएका दुई जना पनि विदेशबाट फर्किएका व्यक्ति हुन्। सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो । आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो ।