११ चैत , अमेरिकास्थित न्युयोर्कमा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय व्यक्तिसहित अर्का ४७ वर्षीय ट्याक्सी चालक संक्रमित भएका छन् ।

ज्याक्सन हाइटमा केही वर्षदेखि बस्दै आएका दुई सन्तानका पिता एक साताअघि नियमित ज्वरो आउनुका साथै खोकी लागेपछि क्विन्सको एल्महस्ट अस्पताल भर्ना भएका थिए । शंकापछि उनको कोरोना भाइरस परीक्षण गरिएको थियो । त्यसको पाँच दिनपछि उनी संक्रमित भएको रिपोर्ट आएको हो ।

त्यसैगरी अर्का ट्याक्सी चालक पनि उक्त अस्पतालमा उपचाररत छन् । दुई साताअघि ट्याक्सी चलाउन छाडेका उनी एक्कासि ज्वरो आएपछि आफूले नियमित जँचाउने चिकित्सककहाँ पुगेका थिए । फलोअपपछि एन्टिबायोटिक सेवनले झनै थलिएका उनी एल्महस्ट अस्पतालको आकस्मिक कक्षमा गएका थिए । परीक्षणमा कोभिड–१९ पोजिटिभ आएपछि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको परिवारले जनाएको छ ।