काठमाण्डौ , १० फागुन

कोरोना भाइरसबारे गलत सूचना सम्प्रेषण नगर्न सरकारले पटक–पटक आग्रह गर्दै आएको छ । त्यस्तो गर्ने व्यक्तिलाई कारबाही गर्ने निर्णय पनि दिएको छ । तर, जिम्मेवार व्यक्तिले नै हल्ला फैलाउँदा आइतबार देशभर त्रास फैलियो ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका थिए । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए ।

वीरगन्जका व्यवसायी शिवकुमार रुंगटामा कोरोनाको संक्रमण देखिएको भन्दै आइतबार सांसद प्रदीप यादवले सामाजिक सञ्जालमा लेखेपछि देशभर सनसनी मच्चियो । पर्साका सिडिओ विष्णुकुमार कार्की र सहायक सिडिओ ललितकुमार बस्नेतले समेत रुंगटालाई कोरोना पोजेटिभ देखिएको भनेर मिडियालाई प्रतिक्रिया दिएपछि सिंगो देश आतंकित बनेको हो ।

खासमा व्यवसायी रुंगटालाई संक्रमण भएको आशंकामा परीक्षण मात्र गरिएको थियो । उनलाई संक्रमण नभएको रिपोर्ट अस्पतालले दिएको थियो । पटना अस्पतालमा उपचाररत उनमा संक्रमण नभएको रिपोर्ट आएको रुंगटाका आफन्त तथा पूर्वसांसद अनिल रुंगटाले बताए । ‘उहाँलाई ज्वरो आएको हो, यस्तो वेलामा ज्वरो आउँदा स्वाभाविक रूपमा कोरोना टेस्ट हुन्छ, तर उहाँको रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘पटनास्थित मेडिकल कलेजमा उहाँको उपचार भइरहेको छ ।’