२८ मंसिर, जनकपुरधाम ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा प्रहरीले गरेको सानो त्रुटीका कारण बम विष्फोट हुँदा तीन जनाको ज्यान गएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको हो ।

बम विष्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, घर धनी राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको छ । विष्फोटमा राजेशका एक छोरा, एक छोरी र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।

शुक्रबार राति ११ बजेतिर राजेशकी पत्नी शौच गर्न उठ्दा घरको गेटमा शंकास्पद बस्तु रातो रंगको झोलामा झुण्ड्याएको देखिन् । उनले यो कुराको जानकारी आफ्ना पति राजेशलाई गराइन् । राजेशले तत्कालै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरे । केहीबेरमै प्रहरी निरीक्षक अमिर दाहाल नेतृत्वको टोली आयो ।

प्रहरी निरीक्षक दाहालले झोला छुँदै ‘केही होइन’ भनेलगत्तै विष्फोट भएको भिखारीको भनाइ छ । घटनामा ज्यान गुमाएका राजेशका पिता भिखारी साहले भने, ‘प्रहरी निरीक्षक दाहाल आफैंले झोला छोएको केही सेकेण्डमै शक्तिशाली बिष्फोट भयो, सायद सेनाको टोलीलाई बोलाएको भए, यो क्षति हुने थिएन ।’