२७ मंसिर,काठमाडौं ।

सरकारले अनधिकृत रुपमा विदेशी च्यालन प्रसारण गर्ने डिभाइन स्ट्रम नेटवर्क प्रालि (मेरो टिभी)को लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

पटक पटकको लिखित तथा मौखिक निर्देशन र एक साताअघिको अन्तिम चेतावनी पनि अटेर गरेपछि कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो ।

सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले अवैध ढंगले डिटिएचबाट च्यानल प्रसारण गरी राज्यलाई करोडौं राजश्व घाटा पार्ने काम गरेकाले कानुन बमोजिम कारवाही अघि बढाउन निर्देशन दिइसकेको बताए । सूचना तथा प्रसारण विभागले मंसिर १७ गते पत्र लेखी नियमसंगत ढंगले नआए लाइसेन्स रद्द गर्ने चेतावनी दिएको थियो ।

क्लिन फिड लागू गर्ने सन्दर्भमा विदेशी च्यानलहरु अवैध डीटीएचको प्रयोगबाट ग्राहक तथा सरकारलाई समेत ठगी भइरहेको गुनासो आएपछि विभागले डिभाइन स्ट्रीम नेटवर्क (प्रालि) लाई एक साताको अल्टिमेटम दिएको थियो । मंसिर १७ गते विभागले डिभाइन नेटवर्क (मेरो टिभी) लाई दिएको लिखित चेतावनीमा अवैध प्रसारण नरोके कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने भनिएको छ ।