१० मंसिर, काठमाडौं

निजी मेडिकल कलेजहरुले एमबीबीएस पढाइका लागि विद्यार्थीहरुले तिरेको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान सरकारसमक्ष राखेका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी उनीहरुले आफूहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने बताएका हुन् ।

मेडिकल कलेज सञ्चालकहरुले शैक्षिक सत्र २०७४/७५ र २०७५/७६ मा लिएको अतिरिक्त शुल्क फिर्ता नगर्ने भनी शिक्षामन्त्रीलाई पत्र बुझाएका छन् ।

आफूहरुले विद्यार्थी भर्ना गरिसकेपछि सरकारले नयाँ शुल्क निर्धारण गरेको र गत आर्थिक वर्षमा विद्यार्थीले तिरेको शुल्कमध्येबाटै सरकारलाई राजस्व, विश्वविद्यालय र मेडिकल काउन्सिललाई तिर्नुपर्ने शुल्क तिरेकाले शुल्क फिर्ता गर्न नसक्ने उनीहरुले बताएका छन् ।

सरकारले मेडिकल कलेजलाई विद्यार्थीसँग लिएको अतिक्ति शुल्क फिर्ता गर्न दिएको अल्टिमेटम सकिएको भोलिपल्ट कलेज सञ्चालकहरुले शुल्क फिर्ता गर्न नसक्ने अडान राखेका हुन् ।