४ मंसिर, जनकपुर

सिरहाको लहानबाट अपहरण गरिएको  नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर फेला परेको छ ।

मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१  , रमदैयामा फेला परेको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट १० किलोमिटर दक्षिणमा मंगलबार राति ट्यांकर भेटिएको पुष्टि गरे ।

भेटिएको ट्यांकरमा तेल खन्याइएको छ र तेल कहाँ र कसले खन्याइयो भन्ने खुलेकाे छैन ।

बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट २० हजार लिटर डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगरतर्फ जाने क्रममा ना.४ख ४१६३ नम्बरको टयांकर सोमबार राति अपहरण गरेको बताइएको थियो । यद्यपि, दाबी गरिएजस्तो टयांकर अपहरण भएको थियो या चालककै संलग्नतामा तेल बिक्री गर्न अपहरणको बहाना गरिएको थियो भन्ने खुलेको छैन ।