४ मंसिर, काठमाडौं

बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल-भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् ।

यी सीमास्तम्भ कहाँ गए भन्ने स्पष्ट जानकारी छैन । जसमध्ये मुख्य सात, सहायक नौ र साना ७८ छन् भने बाँकेमा नौ सीमास्तम्भ गायव पारिएका छन् । जसमध्ये मुख्य चार र सहायक पाँच सीमास्तम्भ छन् ।

बाँके, बर्दियासँग सीमा जोडिएको भारतको बहराइच जिल्ला पर्दछ । करिब ६५ किलोमिटर बाँकेखण्ड र ८० किलोमिटर बर्दियाखण्ड रहेको छ । बाँके र बर्दियालाई स्थानीय मानखोला नदीले छुट्याएको छ ।

नेपाल-भारत छुट्याउने बाँकेखण्डमा जम्मा ३०७ सीमास्तम्भ छन् । यसमा पनि मुख्य ३२ र सहायक २७५ सीमास्तम्भ छन् । जसमध्ये मुख्य २७ सीमास्तम्भ राम्रो अवस्थामा छन् भने चार खोलाले बगाएको छ । एउटा सीमास्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ ।

दुई सय ४६ सहायक सीमास्तम्भ राम्रो अवस्थामा भए पनि २१ को मर्मत गर्नुपर्ने देखिएको छ । तीन सहायक स्तम्भ पुनःनिर्माण गर्नुपर्ने देखिएको छ भने पाँच खोलाले बगाएको छ ।