१ मंसिर, कामाण्डौं

प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्राे एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला अ‍ोलीले यो सरकारले विदेशी फौज फिर्ता गराउने समेत दावी गरे ।

नेकपाका संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए ।

उनले सिमाना अहिले आएर नमिचिएको भन्दै यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग फिर्ता लिन अहिलेको सरकार सक्षम रहेको बताए ।

प्रधानमन्त्री ओलीले राष्ट्रियताको पक्षमा सबै दल र जनता एकजुट हुँदा सरकारलाई सजिलो भएको बताए तर केही व्यक्तिहरुले अतिरिक्त देशभक्ति देखाउने नाममा उछृङ्खल गतिविधि गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाए ।

उनले भने ‘यस नाममा केही उछृङ्खल गतिविधि देखिए । कतिपयले आफूलाई हिरो देखाउन, अतिरिक्त देशभक्ति देखाउने हिसाबले त्यस्ता गतिविधि गरेका छन् । यसले समाधान हुँदैन । अहिलेको सरकार नेपाली जनताको सरकार हो । देशभक्त सरकार हो । यो सरकारले एक इन्च भूमि पनि मिचिन दिदैन ।’

हामीलाई अरुको जमिन चाहिएन भन्दै प्रधानमन्त्रीले हाम्रो जमिनबाट छिमेकीले सेना फिर्ता लैजाओस भन्ने आग्रह गरे । नेपालले शान्ति सेनामार्फत विश्वमै शान्तिको पक्षमा नाम कमाएको भन्दै उनले छिमेकीसँग कुनै तनावबिना संवादको माध्यमबाट सीमा समस्या समाधान गर्ने पनि बताए ।