२५ कात्तिक, सिन्धुली

नेपाल आक्रमण गर्न आएका ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुली गढीमा गढी दरवार र युद्धकला संग्रहालय निर्माण हुने भएको छ । प्रदेश-३ काे ऐतिहासिक सिन्धुली गढीमा प्रदेश सरकारले दरवार निर्माण गर्ने भएको छ भने नेपाली सेनाले युद्ध संग्रहालयको निर्माण गर्ने भएको छ ।

नेपाल आक्रमणको लागि भारतबाट जनकपुर हुँदै काठमाडौंतर्फ हिँडेको ब्रिटिस सेनालाई सिन्धुली गढीमा वि.सं. १८२४ मा नेपाली सेनाले आक्रमण गरि कात्तिक २४ गतेको दिन पराजित गरेर विजय प्राप्त गरेको थियो । अधुनिक हतियार लिएर आएको ब्रिटिस सैनिकलाई गढीमा बसेका नेपाली सेनाले तोप तथा ढुँगा मुढा हानेर आक्रमण गरेका थिए । उनीहरुले जंगलमा रहेको अंरिगालको गोलामा ढुँगा हान्दा अरिंगाल बिच्किन गई ब्रिटिस सेनालाई टोक्दा ब्रिटिस सेना भागाभाग भएको इतिहासमा उल्लेख छ । भाग्ने क्रममा उनीहरुलाई लेकाली सिस्नो र अल्लोले पोलेपछि ब्रिटिस सेना तितर वितर भएको थियो । ब्रिटिस सेनाको नेतृत्व गर्दै आएका किनलक पराजय स्विकार गरी भागेर भारत फर्किएका थिए ।