७ असोज, काठमाडौं । करिब आठ वर्षअघि खेमलाल गुरुङ आफ्नो ड्राइभिङ लाइसेन्स नवीकरण गर्न ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय पुगे । तर, ड्राइभिङलाई पेसाकै रूपमा अपनाएका गुरुङले नयाँ लाइसेन्स पाएनन् ।

विगत ०४६ सालदेखि नै गाडी चलाउँदै आएका गुरुङलाई कहिल्यै पनि त्यसरी खालीहात फर्काइएको थिएन । तर, ४३ वर्षको उमेरमा, ड्राइभर बनेको २२ वर्षपछि कर्मचारीले उनका आँखामा एउटा खोट देखाएर फर्काइदिए ।

कर्मचारीले देखाएका विभिन्न रङ गुरुङले चिन्न सकेनन् । अर्थात्, उनी त ‘कलर ब्लाइन्ड’ रहेछन् ।

विगतमा २२ वर्षसम्म विभिन्न संघसंस्थाका लागि गाडी चलाउँदा उनलाई आँखाकै कारण कुनै समस्या भएको थिएन । तर, यसपटक भने उनको लाइसेन्स नवीकरण भएन । फलतः तत्कालीन समयमा एउटा बैंकका लागि काम गर्दै आएका गुरुङले जागिर गुमाए ।