७९ कात्तिक १८ काठमाडौ ।                                                                                                                    लमजुङ पर्यटन प्रवर्द्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरूले गाउँपालिकाका विभिन्न ठाउँको गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याम्प नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो । घलेले गाउँका बूढापाकासँग सोधे  । गोठालाहरूले ताल छ भनेपछि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैरु गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो । उनीहरू दुई दिनमा तालछेउ पुगे । त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चामेका इन्स्पेक्टर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) बाट उचाइ नापे । ५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रस्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) भन्दा अग्लो ठाउँमा अर्को ताल पनि रहेछ । हामी साउन ५ गते चामेबाट हिँडेका थियौं । ६ गते पुग्यौं । हेर्‍यौं र छोटो बाटो ७ गते नै झर्‍यौं, गाउँपालिका अध्यक्ष घलेले भने, ताल निकै मनमोहक छ । यो ताल तिलिचोभन्दा उचाइमा रहेको बारे सरकारको आधिकारिक निकायले पुष्टि गर्न भने बाँकी छ । ताल भएको ठाउँ चामे गाउँपालिका ४ मा पर्छ । तालको लम्बाइ करिब डेढ किलोमिटर र चौडाइ करिब ६ सय मिटर रहेको उनीहरूको अनुमान छ । गहिराइ भने अनुमान गर्न सकिएको छैन । उक्त क्षेत्रलाई ‘सिंगर’ भनिएकाले स्थानीयले तालको नाम पनि ‘सिंगर’ राखेका छन् । स्थानीयले याक, चौंरी एवं भेडा चराउने खर्कलाई सिंगर भन्ने गरेको अध्यक्ष घलेले बताए ।