२२ साउन, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले बुधबार पत्रकारमाझ अनौपचारिक रुपमा आफ्ना योजना सुनाए । उनको सबैभन्दा पहिलो र मुख्य फोकस चाहिँ नेपाल एयरलाइन्सको सुधार देखिन्छ । मन्त्री भट्टराईले ‘वाह नेपाल एयरलाइन्स’ बनाउने प्रतिवद्धता पुनः दोहोर्‍याए । उनले आत्मविश्वासपूर्वक भने ‘मैले बोलेकै काम गर्नका लागि हो, काम नगर्ने भए म बोल्ने नै थिइनँ ।’ १५ साउनमा पहिलोपटक मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री भट्राई हरेक दिनजसो नेपाल वायुसेवा निगमका उच्च तहका अधिकारीसँग छलफलमा बसेका छन् । जानकार व्यक्तिहरुसँग निगम सुधारको उपायबारे सुझाव मागिरहेका छन् ।