१४ साउन, काठमाडौं । शनिबार बाँसबारीस्थित गंगालाल अस्पतालमा बनेको ओपीडी भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुद्धि बंगारा खुस्किएको सुनाउँदै भनेका थिए, म अस्थायी बिरामी हो, नक्कलीचाहिँ होइन । त्यसको दुई दिनपछि नै प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने खबर आयो । यो खबरले प्रधानमन्त्री अस्थायी नभई गम्भीर बिरामी त परेका होइनन् भन्ने चासो धेरैलाई बढाएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहका अनुसार पछिल्लो दुई वर्षयता विज्ञ डाक्टरहरुले प्रधानमन्त्री ओलीको ‘रिपोर्ट कार्ड’ हेरेका छैनन् । गत वर्ष दशैंको टीका लगाइदिने क्रममा संक्रमण भएपछि प्रधानमन्त्री ओली १२ कात्तिकमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर पाँच दिन बसे । डा. सिंहका अनुसार ओलीले बैंकक रोजेका थिए । तर, मिर्गौलाको चेकअपका लागि बैंकक भन्दा सिंगापुर राम्रो रहेको सुझाव दिएपछि ओली सिंगापुर जान सहमत भएका हुन् । डा. सिंह भन्छिन्, ‘त्यहाँ पुरानै डाक्टरसँग चेकअप गराउने योजना छ । अस्पताल भने अहिले तय भइसकेको छैन ।