७, साउन, चितवन । जेठ १५ गतेदेखि रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम झण्डै दुई महिनापछि मंगलबार सुरु भएको छ ।धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसले विहान सिमसिमे पानीमा बेल्चा, गल र रड बोकेर रंगशाला निर्माणको काम सुरु गरे । मजदुरहरू काममा खटिएका छन् भने फाउण्डेसनको साइट कार्यालय पनि खुलेको छ । भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण थालिएको रंगशालाको तीनतर्फ जस्तापाताले घेरेर बार लगाइएको छ । पश्चिमतर्फ बाटोसम्बन्धी विवाद हुँदा जस्तापाताले घेरिएको छैन । मैदानका लागि रोपिएको दुवोको संरक्षण र हेरचाहका लागि नेपालकै वरिष्ठ क्यूरेट कोमलबहादुर पाण्डे चितवन आउँदैछन् । वर्षायाममा अरु काम हुन नसक्ने हुनाले झाडी हटाउने, कर्मचारी तथा मजदुर आवासको भवन बनाउने, त्यसको रंगरोगन गर्नेलगायतका काम गर्ने धुर्मुसले बताए ।