नेपालको एक मात्र पूँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत को बन्ला भन्ने अहिले आम लगानीकर्तामा चासोको ठूलो बिषय बनेको छ । नेप्सेको प्रमुख कार्यकारी छनौट गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेपछि यो चर्चा उत्कर्षमा नै पुगेको छ । अझ विवादित व्यक्तिलाई पहिलाे प्राथमिकतामा राखेपछि खुला प्रतिश्पर्धाका नाममा राजनीतिकरण भएकाे छ ।

 

 

छनौट समितिले नेपाल इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी चन्द्रसिंह साउद, ज्योति विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र प्राध्यापक प्रमोदराज शर्माको नाम सिफारिस गरेपछि अहिले यो क्षेत्रमा संलग्न र चासो राख्ने व्यक्तिहरुमा कौतुहलता बढेर गएको छ। तर नेप्सेको नेतृत्वमा आम लगानीकर्ताको आशा विपरित गलत मान्छे लैजान चरम राजनीति भएको भन्दै खबरदारी समेत हुन थालेको छ ।

सिफारिस तीन जनामध्ये सबैभन्दा प्रमुख दाबेदारको रुपमा हेरिएका चन्द्रसिंह साउद राजनीतिक आडमा नै नेप्सेको प्रमुख कार्यकारी हुने  प्रवल सम्भावना छ । १३ जनाबाट छनौटका क्रममा यसअघि छानिएका पाँच जनामा साउदलाई सबैभन्दा कमजोर ठानिएको थियो । उनकाे अन्तर्वार्ता र कार्ययोजना प्रस्तुती कमजोर रहेको भन्दै छनौट समितिले सिफारिस गर्न अानाकानी गरेकाे थियाे । छनौट समिति नै साउदको नेप्से हाँक्ने योजनाप्रति असन्तुष्ट छ । राजनीतिक दबाबका कारण समिति उनकाे नाम सिफारिस गर्न बाध्य बनेकाे अर्थ मन्त्रालय स्राेतले मेराे लागनीलार्इ बतायाे । स्रोतका अनुसार शीर्षस्थानमा छनौट भएका साउदको अन्तर्वार्ता र प्रस्तुती पाँच जना मध्येकै कमजोर थियो ।

यहि बिषयलार्इ लिएर अर्थ मन्त्रालयका केही उच्च अधिकारीहरूका बीच सम्बन्ध समेत चिसिएकाे स्रोतकाे दाबी छ । यसरी राजनीतिक आडमा साउदलार्इ नेप्सेमा लैजाने खेल तीब्र बन्दै गएपछि पूँजी बजारका सराेकारवालाहरू पनि चिन्ता गर्न थालेका छन् ।

‘सर्टलिष्ट’मा परेका पाँच जनामध्ये नेप्सेकै प्रविन पन्दाक र नेप्सेका पूर्व महाप्रवन्धक सीताराम थपलियालाई पनि यहि समिकरणका कारण शीर्ष तीन जनामा नपारिएको बताइएकाे छ । ‘साउदलाई नै प्रमुख कार्यकारीमा छनौट गर्न नेप्सेका पूर्व महाप्रवन्धक सीताराम थपलिया र नेप्सेकै उच्च कर्मचारी प्रविन पन्दाकलाई पाखा लगाइएको हो’  स्रोतले भन्याे, ‘चन्द्र सिंह साउदले सुदूर पश्चिमको नाता लगाउँदै प्रधानमन्त्री देउवाको निकट भएकाले पनि उनको पल्लाभारी हुने अवस्था आएको हो ।’

को हुन चन्द्रसिंह साउद ?

साउदले २०५१ सालमा नेपाल इन्स्योरेन्समा छैठौं श्रेणीको अधिकृत तहबाट प्रवेश गरेका थिए । २०६० सालमा खुल्ला प्रतिस्पर्धाबाट वरिष्ठ प्रबन्धक चयन भएका उनी २०६४ सालमा कम्पनिको मुख्य प्रबन्धक, २०६९ सालमा नायब महाप्रबन्धक र २०७० सालमा का.मु महाप्रबन्धक भएका थिए । त्यसपछि उनी उक्त कम्पनीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । सञ्चालक समितिले उनलाई विसं २०७१ साल माघमा चार वर्षका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गरेको थियो । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका साउद नेपाल पुनर्वीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्य समेत थिए ।

नेपाल इन्स्योरेन्स कम्पनीमा साउदले २२ वर्ष काम गरेका छन् । २०५१ सालदेखिको नेपाल इन्स्योरेन्स यात्राका क्रममा प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेर २०७३ मा अवकास पाएका साउद अहिले चार्टर्ड क्यापिटल एण्ड इन्भेस्टमेन्ट लिमिटेडका अध्यक्ष रहेका छन् । यो कम्पनी सेयरबजारमा लगानी गर्न खोलिएको हो । यस कम्पनी मार्फत साउदले करोडौको सेयर किनबेच गर्दे आएको उनी निकटस्थहरु बताउँछन् । उनी र उनका आफन्तको प्रत्यक्ष तथा अप्रत्यक्ष आवद्धतामा करोडौं रुपैंयाको सेयर भएको चर्चा समेत हुने गरेको छ ।

स्मरणीय छ, साउदले नेपाल इन्स्योरेन्सलाई समस्याग्रस्त अवस्थातिर धकेलेकै कारण कम्पनीका सबै कर्मचारीहरुले उनलाई कम्पनीबाट बाहिरिन बाध्य पारेका थिए । आफु कम्पनीमा रहँदा भोजराज जोशीको नाममा ठुलो संख्यामा आफैंले सेयर खरिद गरेका उनका बिरुद्ध अख्तियारमा उजुरी समेत परेको छ ।

नेपाल इन्स्योरेन्सका एक कर्मचारीले साउदले गरेको इन्साइडर ट्रेडिङका सम्बन्धमा छानबिन गरी पाउँ भनी यहि असोज ८ गते अख्तियारमा उजुरी दिएका हुन् । उक्त दिन दर्ता नम्बर ५३४९ बाट नेपाल इन्स्योरेन्सका कर्मचारीले आयोगमा उजुरी दर्ता गरेका हुन् ।

अख्तियारमा नेपाल इन्स्योरेन्सका कर्मचारीले दिएको उजुरी यस्तो छ ।

 

आफु कम्पनीबाट बाहिरिए पछि कम्पनीमा आफ्नो दबदबा कायमै राख्नका लागि उनले आफ्ना छोरा सागरसिंह साउदलाई कम्पनीको सञ्चालक बनाएका छन् । भोजराजको नाममा रहेको ठुलो कित्ता सेयरको सहयोगमा अझै पनि साउदले कम्पनीमा आफ्नो योजनालाई निर्णय गराउँदै आएका छन् ।

यसरी आफु कार्यरत कम्पनी अनि सेयर बजारमा बिबादास्पद छवी बनाएका साउदलाई नियुक्त गर्ने योजनामा सरकार नै संगठित रुपमा लागेको हो । बालुवाटार स्रोतका अनुसार अब दाउदले नै नेप्से हाक्ने करिब करिब पक्का भएको छ । यस बिचमा अख्तियारले गरेको अनुसन्धानको नतिजा बाहिर आएको खण्डमा भने सरकारलाई फलामको चिउरा चपाए सरह हुने निश्चत छ ।

नेपाल ईन्स्योरेन्समा लामो समय कार्यरत रहँदा कम्पनीलाई झण्डै बिघटन अवस्थामा पुर्याएका उनै साउदलाई आम नेपालीको झण्डै १८ खर्ब लगानी रहेको पूँजी बजारको ताला चावी जिम्मा लगाउने अन्तिम तयारी भईरदा लगानीकर्ता शंसकित बनेका हुन ।

कर्मचारी आन्दोलित

साउद नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी रहँदा कम्पनीको संस्थागत सुशासनमा स्वयम त्यहाँ कार्यरत कर्मचारीहरुले प्रश्न गरेका थिए । संस्थागत सुदृढीकरणको माग राखेर कर्मचारीहरु आन्दोलनमा समेत उत्रिएका थिए । उनीहरुले व्यवस्थापन र नेतृत्व तहबाट अभद्र ब्यावहार गरेको आरोप समेत लगाएका थिए ।

त्यतिबेला आन्दोलनरत नेपाल इन्स्योरेन्सका कर्मचारीहरुले साउदले नेपाल बैंकको सम्पूर्ण बहुमत सेयर बिक्री गरेर कम्पनीलाई निजीकरणको प्रक्रियाका लगि आफू अनुकूल खरिदको वातावरण बनाएको आरोप लगाएका थिए । कम्पनीमा नियुक्त हुँदा करार बमोजिम जिम्मेवारी पूरा गर्न नसकेको भन्दै कम्पनीका कर्मचारीले उनलाई हटाउन तिब्र दवाब दिएका थिए । उनीहरुले साउद प्रमुख कार्यकारी हुँदा कर्मचारीलाई दुर्व्यवहार गर्नुका साथै चरम आर्थिक अनियमितता गरेको आरोप लगाएका थिए ।

कम्पनीबाटै बर्खास्त

साउदा नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारीमा नियुक्त हुँदा कम्पनीले दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै व्यवस्थापन समितिले करार भङ्ग गरेको थियो । संचालक समितिले ०७३ असार १७ गतेको बैठकबाट साउदलाई बर्खास्त गरेको थियो ।

करार सम्झौता अनुसार काम गर्न नसेको, कर्मचारीहरुबीच भेदभाव गरेको, आर्थिक अनियमितता गरेको, बढी सुविधा उपभोग गरेको, कम्पनीको वित्तीय अवस्था सुधार गर्न नसेको लगायत आरोप कर्मचारी यूनियनको थियो । सोही तथ्यहरु प्रमाणित भए पछि साउदलाई व्यवस्थापन समितिले कार्यकाल नसकिँदै प्रमुख कार्यकारीको पदबाट बर्खास्त गर्ने निर्णय गरेको थियो ।

यदि साउदलाई सरकारले कुनै पनि हालतमा नेप्सेको नेतृत्वमा लैजाने खेलमा लागेको खण्डमा केही समयको अन्तरालमा नै देउवा सरकार, पूँजी बजार र स्वयं साउदकै लागि यो कदम घातकसिद्ध हुने देखिन्छन।

लगानीकर्ताको चाहना : विवादास्पद हैन बजारको विकास गर्ने व्यक्ति चाहिन्छ

सेयर बजारका लगानीकर्ता बजार विकास गर्न सक्ने नेतृत्वलाई ल्याउनुपर्नेमा जोड दिन्छन् । नेप्सेको नेतृत्व छनौट पनि राजनीतिक शक्तिकै भरमा हुने भएका कारण भोलि काम गर्न नसक्ने व्यक्तिले नेतृत्व लिने हुन् कि भन्ने चिन्ता सर्वत्र छ ।

एक ठूला लगानीकर्ताले मेरो लगानीसँगको कुराकानीमा भने, ‘पूँजीबजारको विकास गर्न सक्ने क्षमता भएको व्यक्ति नेप्सेमा आवश्यक छ । अब अनलाइन प्रणालीको विकासलाई अगाडि बढाउनुपर्नेछ, नयाँ नेतृत्वले सो प्रणालीलाई कार्यान्वयनमा ल्याउन सकोस्’ उनले भने ‘पुँजी बजारलाई व्यवस्थित गर्न मार्जिन लेण्डिङ, मार्केट डिलर लगायतका धेरै काम गर्नु जरुरी छ, यी काम गर्न सक्ने व्यक्तिलाई नयाँ नेतृत्वको जिम्मा दिनुपर्छ तर विवाद बढाउने काम गर्नु हुँदैन ।’

त्यस्तै अर्का लगानीकर्ताले राजनीतिक शक्तिका भरमा असक्षम व्यक्ति पनि नेतृत्वमा आउन सक्ने बताउँदै पुँजी बजारको संवेदनशीलतालाई पनि ख्याल गरेर मात्रै नियुक्ती गर्नुपर्ने तर्क गरे । उनी भन्छन्, एक जना मन्त्रीको बलबुँतामा कुनै संस्थाको नेतृत्व नै कमसल व्यक्तिको हातमा जान्छ भने सरकारबाट देश विकासको आश कसरी गर्नु ?’

……………… सिद्धार्थ बैंकले ल्यायो ‘मेरो सेयर खाता’, वार्षिक ६ प्रतिशत ब्याजदर  ………………

……………… १२ मेगावाट क्षमताको दोर्दीखोलाको निमार्ण तीन बर्षमा सक्ने लक्ष्य   ………………